TodayPati

बारा र सप्तरीमा सवारी दुर्घटनामा चारजनाको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, असोज ३० गते ।

बारा र सप्तरीमा सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको ज्यान गएको छ ।

Sponsored

मृत्यु हुनेहरुमा कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफ, कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेका छन् ।

चालक सराफलाई उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार सुरज र कृत सिंहको भने वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरज र कृतको भने अहिलेसम्म ठेगाना खुल्न सकेको छैन ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गए राति पौने ११ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

Sponsored

यस्तै शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको छ ।
उनी मोटरसाइकलमा पछाडि सवार थिए ।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरी सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा पूजा गर्न जाने क्रममा दुर्घटना हुँदा उनको मृत्यु भएको छिमेकी धिरज झाले जानकारी दिए।

त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स२प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना५ख ९००० नंको बसले पछाडिबाट ठक्कर दिएको थियो।

बस चालक चितवन माडी नगरपालिकाका ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *