गृह जिल्ला सर्लाही पुगेर कृषिमन्त्री महेन्द्र रायले भने ‘कृषि प्रधान देशमा सँधैदेखि कृषि क्षेत्र उपेक्षामा छ’
टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।
संघीय सरकारका नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई बुधबार गृह जिल्ला सर्लाहीमा स्वागत गरिएको छ ।
मन्त्री यादवलाई पुर्व पश्चिम राजमार्ग स्थित नवलपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन् ।
मन्त्री यादवलाई स्वागत गर्न सर्लाही सदरमुकाम मलङ्ग्वाबाट जसपाका नेता तथा कार्यकर्ताहरु नवलपुर पुगेका थिए ।
नवलपुर स्थित रहेको अनमोल होटेलमा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कृषि प्रधान देशमानै कृषि उपेक्षामा परेको बताए ।
अहिलेसम्म कृषि क्षेत्रमा सरकारले ३ देखि ४ प्रतिशतभन्दा बढी बजेट विनियोजन नगरेको भन्दै उनले यो देशकै दुर्भाग्यपूर्ण भएको धारणा राखे ।
Sponsored
उनले परम्परागत खेती प्रणालीले किसानको जिवनस्तरमा कुनै परिवर्तन नहुने मन्त्री यादवले ठोकुवा गरे । कृषि आधुनिकीकरण र व्यवसायीकरण भएमा मात्र किसानको हित हुने र यस कामका लागि मन्त्रालयले कुनै कसर बाकी नराख्ने मन्त्री यादवको भनाइ छ ।
मन्त्री यादवले मलखाद नेपाल भित्र्याउँदा हुने समस्या, मलखादको चुहावट र बिउबिजनको समस्या माथी आफ्नो ध्यान केन्द्रित रहेको र यसको सहजताका लागि आफू लागिपरेको बताए ।
उनले गठबन्धनको सरकार चुनावी सरकार भएकोले गठबन्धनको साथमै देशमा चुनाव होस् भन्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले चाहेको मन्त्री यादवले बताए ।
देशमा कुनै पार्टीले बहुमत ल्याउन नसक्ने अवस्था भएकोले गठबन्धनको माध्यमबाट बहुमत ल्याएर संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको रक्षा हुने मन्त्री यादवले ठोकुवा गरे ।