चैती छठ : जनकपुरको घर–घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ (फोटो फिचर)
टुडेपाटी-
जकपुरधाम, चैत १७ गते ।
चैते छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । लकडाउनको कारण यसवर्ष जनकपुरधाम लगायत मिथिलाञ्चलमा घर–घरबाटै अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिइएको छ ।
भोली मंगलबार बिहान उदाउँदो सूयलाई अर्घ दिएपछि चैती छठपर्व विधिवत समापन हुने छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैते छठ मनाइँदै छ ।
घर घरमै भाँडो पानी राखेर अथवा खानेपानीको श्रोत रहेको कल, इनार भएको स्थानमा पूजा सामग्री राखेर साँझको अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका हुन् ।
चैती छठ जनकपुरधामको सरोवर तथा पोखरी किनारहरुमा विशेष रुपले सजाएर जलासयबाटै अर्घ दिने परम्परा रहेको छ । यसदिनमा विशेष चहलपहल हुने गर्दछ । तर यसवर्ष लकठाउनको कारण घर–घरमै छठ मनाउँदा कुनै चहलपहल देखिएको छैन ।
कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइन्छ ।
Sponsored
अस्ताउँदो र उदाउँदो सूर्य अर्थात आदिदेव दिनानाथलाई अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।