प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुतला दहन
टुडेपाटी-
वीरगञ्ज, असोज २३ गते ।
जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले वीरगञ्जमा आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरूले वीरगञ्जमा अध्यक्ष यादवको पुतला जलाएको हो ।
आक्रोशित कार्यकर्ताहरुले ‘उपेन्द्र …त्ता मार जुत्ता’ र ‘काला नाग उपेन्द्र यादव मुर्दावाद’ सहितका नारा लगाएका थिए ।
सांसद यादवनिकट जसपा कार्यकर्ताहरूले प्रदर्शन गर्दै वीरगञ्जको घण्टाघर चोकमा अध्यक्ष यादवको पुतला जलाएका हुन् ।
पर्साबाट निर्वाचित सांसद यादवलाई मन्त्रिपरिषद विस्तारहुँदा सामेल नगरिएको भन्दै उनका समर्थकहरू अध्यक्ष यादवको विरोधमा उत्रेका छन् ।
सांसद यादवनिकट जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई पर्सा जिल्ला प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन् ।
Sponsored
अध्यक्ष यादवले पटक(पटक वीरगञ्जलाई ठग्दै आएको र यसपटक पनि अन्तिम समयमा प्रदीप यादवलाई मन्त्री बन्न नदिन षडयन्त्र गरेको जसपा कार्यकर्ताहरूले आरोप लगाएका छन् ।
कालो झन्डासहित सांसद यादव समर्थकहरूको मोटरसाइकल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर अन्त्य भएको थियो ।