सबै दलले टुंग्याए मन्त्रीको नाम, आजै मन्त्रिपरिषद् बिस्तार हुने (नामावलीसहित)
टुडेपाटी-
काठमाडौं, असोज २२ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिस्तार गर्न लागेको मन्त्रीपरिषदमा सामेल हुने गठबन्धनका सबै दलले मन्त्रीको नाम टुंग्याएका छन् ।
नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्री, दिलेन्द्र बडु कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री र उमाकान्त चौधरी खानेपानी मन्त्री हुने भएकी छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्किलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने तयारी प्रधानमन्त्री देउवाले गरेका छन् । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ ।
माओवादीले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सिफारिसको तयारी गरेको छ । त्यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमा शशी श्रेष्ठ युवा तथा खेलकुद महेश्वरजंग गहतराजलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
माओवादीले थप तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । माओवादी केन्द्रले राज्यमन्त्रीमा बोधमाया यादवलाई बनाउने भएको छ । सरकारमा माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री छन् भने पम्फा भुसाल उर्जामन्त्री छिन् ।
Sponsored
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहाभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । समाजवादीले नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ भने स्वास्थ्यका लागि प्रस्ताव गरिएकी नेतृ रामकुमारी झांक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा सहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको छ । भवानी खापुङलाई भने राज्यमन्त्रीमा सिफारिस गरिएको स्रोतको दाबी छ ।
जनता समाजवादी पार्टिले पनि मन्त्रीहरुको नाम टुंग्याएको छ । जसपा श्रोतका अनुसार राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, रेणु कुमारी यादवलाई कृषि तथा पशुपंक्षि मन्त्रालय, रामसहाय यादवलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयर प्रमोद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तय गरिएको छ ।