प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लिए विश्वासको मत
टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् ।
बुधबार प्रदेश सभामा विश्वासको पक्षमा ७७ मत परेको थियो भने विपक्षमा २३ मत परेको थियो । मतदानका बखत १०० प्रदेशसभा सदस्य उपस्थित रहेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतलाई नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले विश्वासको मत दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का सांसद विन्देश्वरप्रसाद यादवले सरकारलाई विश्वासको मत दिने बताएका छन् । मुख्यमन्त्री राउतलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि मत दिएका छन् ।
यद्यपि, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत दिएनन् ।
Sponsored
संविधानमा मुख्यमन्त्रीले नेतृत्व गरेको दल विभाजन भएको अवस्थामा एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
सोहीअनुसार मुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री रहेको दल जसपा विभाजन भएपछि विश्वासको मत लिएका हुन् ।मुख्यमन्त्री राउतले दुईतिहाइको समर्थन पाएसँगै उनी नेतृत्वका सरकार अब सुरक्षित भएको छ ।