मुख्यमन्त्री राउत आज विश्वासको मत लिँदै, झनै शक्तिशाली बन्दै प्रदेश २ सरकार
टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज विश्वासको मत लिन लागेका छन् । प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको कारण उनले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
सत्तारुढ दल विभाजन भएको अथाव सरकार निर्माण भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सरकारकै सिफारिसमा झण्डै दुई महिना पश्चात आज बिहान ११ प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
गएको भदौ ९ गते निर्वाचन आयोगमा जसपा विभाजन भएको थियो । यधपी सनाखतको समय भदौ २२ गतेसम्म निर्वाचन आयोगमा भएकाले सो अनुसार मुख्यमन्त्री राउतले एक महिना भित्र विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राउतलाई जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । पाँचदलीय गठबन्धनक आधारमा यी दलहरुले विश्वासको मत दिने तयारी गरको हो ।
काँग्रेस र माओवादी सरकारमै छन् । एकीकृत समाजवादी पार्टीले गठबन्धनको हिँसाबले पछि सरकारमा सहभागि हुने गरि विश्वासको मत मुख्यमन्त्रीलाई दिने सो दलका संसदीय दलका नेता सत्रुधन महतोले बताए ।
Sponsored
हाल प्रदेशसभामा १०४ सांसद छन् । सत्तारुढ जसपाको ३८, सत्ता घटक काँग्रेसको १९ र नेकपा माओवादी केन्द्रको ८ प्रदेस सांसद छन् । सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको १३ सांसद छन् भने सरकारकै पक्षमा रहेको संघीय समाजवादी पार्टीका एक सांसद पनि सरकारकै पक्षमा छन् । यस हिँसाबले मुख्यमन्त्री राउत ७९ संसदको विश्वासको मत पाउने निश्चित देखिन्छ । योसंगै मुख्यमन्त्री राउतको सरकार दुई तिहाइको शक्तिशाली प्रदेश सरकार बन्ने पक्का जस्तै छ ।
जसपाबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को १६ र नेकपा एमालेको ८ प्रदेश सांसदले भने सरकारको विपक्षमा मतदान गर्ने तयारीमा छन् ।