प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा विरुद्ध जसपाको मसाल जुलुस
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा प्रदेश २ मा जसपाले मसाल जुलुस प्रदर्शन गरेको छ ।
जनकपुरधामसहित प्रदेश २ को आठवटा जिल्लाको सदरमुकाममा जसपाका नेता कार्यकर्ताले अख्तियार विरुद्ध प्रदर्शन गरेका हुन् ।
जनकपुरमा समाजवादी युवा संगठनका धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र सिंह कापरीको नेतृत्वमा रेल्वे स्टेशनबाट निस्केको जुलुस जनकचोकमा पुगेर सम्पन्न भएको थियो ।
प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्वाग्रही भएर छापा मार्न पाइँदैनलगायतका नारा सहित प्रदेश २ को वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौरलगायत जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेको हो ।
गएको बुधबार प्रदेश २ को मुख्यमन्त्री कर्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा मारी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत गरिएको साइकल खरिदका कागजात लगेको थियो ।
Sponsored
त्यसैको विरोधमा जसपा प्रदेश २ कमिटीले आन्दोलन घोषणा गरेको हो।