TodayPati

जसपाद्वारा अख्तियारविरुद्ध राजविराजमा मसाल जुलुस

शुभ नारायण यादव-
सप्तरी, असाेज १६ गते ।

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका युवा तथा विद्यार्थी नेतासहितका नेताकार्यकर्ताले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।

शनिबार साँझ राजविराजस्थित शिव मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोक पुगेर कोणसभामा परिणत भएको थियो । साे कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाएका छन् ।

Sponsored

सभामा महिला नेतृहरु रमिला साह र गीता यादव, विद्यार्थी नेताहरु शम्भु यादव, केदार यादवलगायतका वक्ताहरुले अख्तियारले गरेकाे कार्यकाे बिराेध जनाए ।
मसाल जुलुसमा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जसपा प्रदेश २ का सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला उपाध्यक्ष निरज मुक्ति, युवा नेता सत्येन्द्र यादवलगायतका नेता तथा कार्यकर्ता सहभागिता रहेको थियाे ।

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी गरी कागजात नियन्त्रणमा लिएको थियो ।

अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति र प्रदेश समितिले विरोध गरेको छ । ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रिनु परेको जसपाका नेता बताउँछन् ।

Sponsored

आज प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जसपाले जनाएको छ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *