अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा आजदेखि जसपाको आन्दोलन
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार साँझ जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ती जारी गर्दै आजदेखि आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज साँझ प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जनाएको छ ।
केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो ।
लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाले आपति समेत जनाएको छ ।
Sponsored