लकडाउनको कारण आज चैती छठ जनकपुरमा घर-घरमै मनाइँदै
टुडेपाटी–
जनकपुरधाम, चैत १७ गते ।
कोरोना भाइरस संक्रमणले मिथिलाञ्चलमा मनाइने चैती छठ प्रभावित भएको छ । लकडाउनको बेला प्रहरीले सार्वजनिक पोखरीमा छठ नमनाउन अनुरोध गरेपछि मिथिलाञ्चालमा आज घरमै छठ मनाइँदै छ । शनिवारदेखि सुरु भएको चैती छठमा आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइने छ भने भोली बिहान मंगलबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न हुनेछ ।
धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वरकार्कीले जारी गरेको उक्त विज्ञप्तीमा चैती छठ पूजामा पर्न गएको पीडाप्रति क्षमा समेत मागिएको छ ।
चैती छठमा जनकपुरधामको सरोवर तथा पोखरी किनारहरुमा विशेष धुमधाम र चहलपहल हुने गर्दछ । तर कोरोना संक्रमण फैलिन नदिन प्रहरीले गरेको आग्रह स्वीकार गर्दै जनकपुरबासी लगायत मिथिलालञ्चलमा घरमै छठ मनाउँदै छन् ।
कोरोना संक्रमण रोक्न लकडाउनको पालना गर्दै घरमै चैती छठ मनाइ रहेको नेपाल पत्रकार महासंघ धनुषाका पुर्वसभापति उमेश साहले बताए । आम जनताकै स्वास्थ्यको निम्ति सरकारले लकडाउन गरेको बताउँदै उनले आफ्नो परम्परा र संकृतिलाई जोगाउन लकडाउनको पालना गरी घरमै छठ मनाएको उनको भनाइ छ । लकडाउनको कारण छठ पोखरीमा मनाउन नपाएकोमा दुखी नरहेको भन्दै साहले कोरोनाबाट ज्यान जोगिए अर्को वर्ष फेरी धुमधामले छठ मनाउने बताए ।
Sponsored
कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्य अर्थात आदिदेव दिनानाथलाई अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।
पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलासयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् । रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।
चैती छठपर्वमा जनकपुरको गंगासागर, धनुसागर, अर्गजा सागर लगायतको जलासय किनारहरुलाई नवदुल्ही झै सजाएर छठपर्व मनाउने गरिन्छ । तर यसवर्ष कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण घर घरमै छठपर्व मनाउनु पर्ने अवस्था सृजना भएकाले चैती छठ पर्वमा जनकपुरधाम खल्लो भएको छ ।