पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापामारी
टुडेपाटी-
पर्सा, असोज १२ गते ।
पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले मंगलबार गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिनुको साथै विभिन्न वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकनसमेत गरेको थियो ।
कालिकामाई गाउँपालिले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान तथा धारा जडान कार्यक्रम, आइसोलेसन, नदी सफाइ तथा सडक ढलान आदिको बिषयमा अख्तियारमा उजुरी परेको छ ।
अनुसन्धानका लागि आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले प्रमाणित कपी नपठाएकोले बाध्य भएर कार्यालयमै छापामारी गरी नियन्त्रणमा लिनुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
सडकको गुणस्तर र स्टिमेट अनुसार काम भए नभएको बारे बुझ्न कालिकामाईमा ईन्जिनियर सहितको टोली स्थलगत अध्ययनका लागि पुगेर फर्केको उनले बताए ।
Sponsored