TodayPati

सिरहा : वडाध्यक्षद्वारा नै सालको काठ चोर्ने प्रयास, जेसीबी र चालक नियन्त्रणमा

विनय यादव-
सिरहा, असोज १२ गते ।

सिरहाको गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट संकलित सखुवाको काठ वडाध्यक्षले नै चोरी गर्ने प्रयास गरेका छन् ।

गोलबजार ९ का वडाध्यक्ष रामपुकार कामतिले सखुवाको काठ चोरेर लाने प्रयास गरेका हुन् । सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।

Sponsored

सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालक नियन्त्रणमा रहेकोे तथा आवश्यक अनुसन्धान भइरहेको मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

वनमा हावाहुरीको समयमा खसेको काठ संकलन गरेर एकठाउँमा राख्न सोमबार नगरपालिकाको जेसीबी मगाइएको थियो । संकलन गरेर अबेर साँझ भएपछि त्यसमध्येको एउटा ठूलो तौलको सालको गोलिया लगिरहेको देख्दा स्थानीयले जेसीबीलाई रोकेका थिए ।

स्थानीयले बयान लिँदा जेसीबी चालक श्रवण कुमार साहले आफूलाई अध्यक्ष कामतिले नै लैजान भनेको बताएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।

Sponsored

सरकारी टाँकासमेत लागिसकेको सालको काठ लोड गरी लगिरहेको देख्दा आफूहरुले जेसीबी रोक्न लगाएर प्रहरीलाई फोन गरेको स्थानीय सकलदेव सिंहले बताए । हावाहुरीले ढालेको साल तथा अन्य गरी एक करोड रुपैयाँभन्दा बढी मूल्यको काठ रहेकोमा यसरी नै चोरी पैठारी हुँदै हाल १० लाख मूल्यको पनि काठ नरहेको उनको भनाइ छ ।

वडाध्यक्ष कामति भने यस विषयमा केहि बोल्न चाहेनन् । उनले आफू त्यही विषयमा छलफलमा रहेकोे भन्दै पञ्छिए । श्रोतका अनुसार, वडाध्यक्ष कामति र मेयर देवनाथ साहले काठ समातेका स्थानीयसँग सहमति गरेर यस विषयलाई टुंग्याउने प्रयासमा छन् ।

तर, स्थानीयको भने संलग्नलाई कानुनी कारवाही हुनुपर्ने अडान छ । वन कार्यालय र नगरपालिकासँगको मिलेमतोमै वडाध्यक्ष कामतिले सखुवाको गोलिया चोरी गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *