ढल्केबर-जटही ६ लेन सडक अन्तर्गत औरही खोलामा बन्यो ६ लेन पुल, सात महिना अगाबै निर्माण
टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।
धनुषाको ढल्केबर जटही ६ लेन सडक अन्तर्गत महेन्द्रनगर स्थित औरही खोलामा समय अगाबै तीनवटा पुल निर्माण सम्पन्न भएको छ ।
ठेक्का लिएको सम्झौता अबधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला औरही खोलामा ठेकेदार कम्पनी रसुवा कन्सन्ट्रक्सनले सात महिना अगाडि नै तीन वटा पुल निर्माण सम्पन्न गरेको हो ।
ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाँप बढेको र भएको पुरोनो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।
सरकारसंग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको रसुवा कन्सन्ट्रक्सनका साईट इन्चार्ज कृष्ण ढुंगेलले जानकारी दिए ।
औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । सो पुलबाट एकैपटक एकातिरबाट तीन वटा सवारी साधन चलाउन सकिन्छ । छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक निर्माण गरिएको हो ।
Sponsored
औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीनवटा पुल निर्माण गरेर हस्तान्तरण गरेपनि ढल्केवर जटहीमा ६ लेनकै सडकको सपही र नक्टाझिज स्थित खहरे खोलामा एकैदिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको छ ।