TodayPati

दिलीप हत्यापछि पनि धनुषामा रोकिएन अवैध उत्खनन : ४ टिपर र १ जेसीभी चालकसहित नियन्त्रणमा

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, माघ २० गते ।

पर्यावरण संरक्षक अभियन्ता दिलीपकुमार महतोको हत्या पश्चात पनि धनुषामा अवैध उत्खनन पुनः सुरु भएको छ । धनुषा र सिरहाको सीमामा बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैद्य उत्खनन गर्ने टिपर र जेसीभी समातिएपछि रहस्य सार्वजनिक भएको हो ।

चुरे क्षेत्र कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला राति ८ बजे धनुषा प्रहरीले ४ वटा टिपर, १ जेसीभीसहित ४ जना चालकलाई नियन्त्रणमा लिएको छ ।

Sponsored

बा ३ खा ७६००, बा १ ख २९३९, ना २ ख २८४ र ना २ क २७८ नम्बरको चारवटा टिपर, जेसिभी बा २ का २९८७ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा तीनजना टिपरका चालक र एकजना जेसीभका चालक छन् । एउटा टिपरका चालक भने फरार भएको प्रहरीले जनाएको छ । चुरे क्षेत्रमा ढुंगा ग्राइभेल खनिरहेको छ भन्ने जानकारी हुनासाथ गएर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनको रहेको बुझिएको छ । साह जनकपुरधाम उपमहानगरपालिकामा गएको पुस २२ गते भएको पत्रकार कुटपीट प्रक्ररणमा समेत संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेपछि अहिले फरार भएका छन् ।

गएको पुस २५ गते मिथिला नगरपालिका ५ स्थित औरही खोलामा अवैध उत्खनन रोक्न गएको बेला स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या भएपछि धनुषामा अवैध उत्खनन पूर्ण रुपले बन्द गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले बिहान सूर्य उदाएदेखि सूर्य अस्ताएसम्म दिउँसो मात्र नदीजन्य वस्तु मापदण्ड अनुसार खन्न पाउने नियम लगाएको छ । तर अझै उत्तरी क्षेत्रका नदी खोला र चुरे क्षेत्रमा दोहन जारी नै रहेको छ ।
दिलीपको हत्या पश्चात मुलुक नै अवैध नदीजन्त उत्खननको विरोध गर्दै पर्यावरण संरक्षणका लागि यसलाई पूर्ण रुपले बन्द गर्न माग गर्दै आएका छन् ।

Sponsored

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *