महोत्तरीमा ६ प्रमुख र ९ उप-प्रमुखसहित लोसपा सबै दलभन्दा शक्तिशाली, जसपा निकै कमजोर, को कतातिर ?
टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।
महोत्तरीको स्थानीय तहमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सबैभन्दा शक्तिशाली बनेको छ। महोत्तरीमा जनता समाजवादी नेपाल (जसपा) १५ पालिका मध्ये ७ पालिका प्रमुख र १० उपप्रमुखसहित सबैभन्दा बलियो थियो ।
तर जसपाकै ७ पालिका प्रमुख र ९ उपप्रमुख नवगठित लोसपा रोजेपछि महोत्तरीमा जसपा सबैभन्दा कमजोर दल बनेको हो ।
जसपाका २४७ जनप्रतिनिधि लोसपामा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय जलेश्वर पुगेर जसपाका २४७ जनप्रतिनिधिले लोसपामा सनाखत गरेको निर्वाचन कार्यालय अधिकृत दिवाकुर भुजेलले टुडेपाटीलाई जानकारी दिए ।
जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मठिहानी नगरपालिका, मनरासिसवा नगरपालिका, महोत्तरी गाउँपालिका र एकडाडा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले लोसपा रोजेका छन्। यस्तै औरही नगरपालिका, बलवा नगरपालिका र पिपरा गाउँपालिका उपप्रमुख पनि लोसपामै खुलेका छन् भने एक मात्र सोनमा गाउँपालिका प्रमुख र उपप्रमुख जसपामै बसेका हुन् ।
लोसपामा सनाखत गर्नेहरुमा जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र र उपप्रमुख मुनचुन देवी, भंगहा नगरप्रमुख संजिव कुमार साह र उपप्रमुख गंगा देवी सिंह, मठिहानी नगरप्रमुख हरि प्रसाद मण्डल र उपप्रमुख शिवोदेवी साह, मनरासिसवा नगरप्रमुख संजय कुमार सिंह र उपप्रमुख रमिता प्रधान छन् ।
त्यसैगरी महोत्तरी गाउँपालिका प्रमुख सुनिल राय र उपप्रमुख सीता देवी राय, एकडारा गाउँपालिका प्रमुख रामछविला साह र उपप्रमुख महजवी खातुन, औरही गाउँपालिका उपप्रमुख रेनु झा, बलबा नगरपालिका उपप्रमुख रिता देवी झा र पिपरा गाउँपालिका उपप्रमुख नन्नु कुमारी दासले लोसपामा सनाखत गरेको भंगहाका नगरप्रमुख संजिव साहले बताए ।
Sponsored
उनका अनुसार लोसापमा सनाखत गर्नेमा पालिका प्रमुख उपप्रमुखसहित धेरै वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य छन्। भदौ २२ गतेसम्ममा छुटेकाहरुले सनाखत गर्न पाउँछन्।
लोसपामा सनाखत गर्ने पालिका प्रमुख तथा उपप्रमुख पूर्व राजपाबाटै निर्वाचित भएका थिए। सोनामा गाउँपालिका प्रमुख राजकुमार यादव र विभादेवी साह भने जसपामै कायम रहेका छन्। उनीहरु दुबै तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । योसँगै अब नयाँ दल लोसपा भने स्थानीय तहमा जिल्लामै शक्तिशाली बनेको छ।
हालसम्म महोत्तरीमा नेकपा एमालेबाट निर्वाचित १ जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालय अधिकृत भुजेलले बताए ।
महोत्तरीमा पिपरा गाउँपालिका प्रमुख विक्रम चौधरी र सम्सी गाउँपालिकाका प्रमुख मो. शेष फारुक हाल एमालेमा छन्। तर उनीहरु दुबै तत्कालिन एमालेबाट भने निर्वाचित भएका होइन् ।
पिपरा गाउँपालिका प्रमुख चौधरी तत्कालिन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने सम्सी गाउँपालिका प्रमुख मो.शेष फारुक नकेपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । फारुक पछिल्लो समय एमालेमा लागेका हुन् ।
महोत्तरीमा गौशाला, बर्दिबास र रामगोपालपुर नगरपालिकामा माओवादीका प्रमुख उपप्रमुख छन् । लोहारपट्टी, बलवा र औरही नगरपालिकामा काँग्रेसका प्रमुख छन् भने लोहारपट्टी नगरपालिका मात्रै कांग्रेसको उपप्रमुख रहेका छन् ।