वाईसीएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन
टुडेपाटी-
काठमाडौं, भदौ १५ गते ।
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ ।
केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीएलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।
नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दिपशीखाका अनुसार वाईसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।
उनले भने, ‘१० प्रतिशत पछि मनोनित हुने गरी २३१ सदस्यीय केन्द्रिय समिति निर्माण गरेका छौँ । यो केन्द्रिय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रिय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।’
Sponsored
गत शनिबारबाट सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए ।
तर सहमति जुटाउन नसकेपछि केन्द्रिय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसीएलले जनाएको छ ।