उखु किसानद्वारा फेरी आन्दोलनो घोषणा
टुडेपाटी समाचारदाता-
जनकपुरधाम, माघ १९ गते ।
पूर्ण भुक्तानी नपाएको भन्दै उखु किसानले फेरी आन्दोलनको घोषणा गरेका छन् । भुक्तानी नपाएको तथा उखु खेतीको संरक्षणका लागि भन्दै किसानहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रावस्वार्थ राय, सचिव हरिश्याम राय र उखु कृषक रामविलास महतोले आइतबार आन्दोलनको घोषणा गर्दै समयतालिका समेत सार्वजनिक गरेका छन् । फागुन ५ गतेसम्म उखु बक्यौता रकमको विवरण गाउँमा पुगेर संकलन गर्ने, फागुन ६ देखि २१ गतेसम्म उखु किसानको एकछाक मात्र खाना खाएर खेतमा काम गर्ने, २२ गतेदेखि चैत २ सम्म चलु काठमाडौं भरु काठमाडौं अभियान सञ्चालन गर्ने र चैत ४ देखि माइतीघर मण्डलामा गएर पुनः अनशन गर्ने समयतालिका सार्वजनिक गरिएको छ ।
विगत १८ महिनायता उखु किसानले भुक्तानी माग गर्दै आन्दोलनरत छन् । सोही क्रममा उनीहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममाा सरकार र किसानबीच पुस १८ मा उद्योग मन्त्रालयमा माघ ७ सम्म चिनी मिल मालिकले र सरकारले दिनुपर्ने अनुदान रकमसहित सबै बक्यौता किसानलाई दिने सम्झौता भएको थियो । तर पनि सम्झौता कार्यान्वयन नभएकोले किसानले पुनः आन्दोलन घोषणा गरेका हुन् ।