फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीको दोस्रो रिपोर्ट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज
टुडेपाटी-
काठमाडौंं, चैत १४ गते ।
फ्रान्सबाट फर्किएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर घर फर्केकी छन् ।
ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन् ।
फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते काठमाडौं आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन् । काठमाडौँ महानगरपालिका ४ चुनदेवीकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सुख्खा खोकी बढेपछि गत शुक्रबार ट्रपिकल अस्पतालमा भर्ना भएकी थिइन् । उनी फ्रान्समा व्यापार ऐन व्यवस्थापन विषयमा अध्ययनरत छिन् ।
दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो । तर, १४ दिन निगरानीमा राख्ने गरिएकाले उनी चुनदेवीस्थित आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छिन् ।
Sponsored
पारिवारिक स्रोतका अनुसार उनलाई घरमा अलग्गै सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ती युवती टपरीमा खाना खान्छिन्। नेपालमा कोराना संक्रमितको संख्या ४ पुगिसकेको छ। यसअघि एक व्यक्ति डिस्चार्ज भइसकेकाका छन्। अब ट्रपिकल अस्पतालमा एक जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक अर्का संक्रमित उपचार गराइरहेका छन् ।