पुजारीलाई मदिरा पिउने हतारोले चोरी भयो छिन्नमस्ता मन्दिरको मुकुट
टुडेपाटी-
जनकपुरधाम, साउन २० गते ।
प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरका पुजारीहरु मदिरा सेवन गरिरहेको रहस्य बाहिरिएको छ । आइतबार साँझ (मुकुट चोरी भएको दिन) ड्युटीमा रहेका पुजारी सुनीलकुमार मिश्र मन्दिरको छेउमै रहेको होटलमा गएर मदिरा सेवन गरेका थिए ।
पुजारी मिश्रले आइतबार साँझ पर्नासाथ मन्दिरको ढोका नै बन्द नगरी मन्दिरको मुख्यद्वारमै रहेको होटलमा गएर घरेलु मदिरा सेवन गरे । त्यस्तै, अर्का पुजारी गौरीशंकर ठाकुरले पनि मदिरा सेवन गरेका थिए । अर्का एक पुजारी श्रवणकुमार ठाकुरले कोरेक्स सेवन गरेको बताइएको छ ।
भगवती मन्दिरसँगै टाँसिएर करिब एक दर्जन मदिरा पसल सञ्चालनमा रहेका छन् । ऐतिहासिक महत्वको मन्दिरनजिक दर्जनौं संख्यामा जथाभावी मदिरा व्यवसाय सञ्चालन गर्दा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको स्थानीयको आरोप छ । मन्दिर दर्शन गर्न आउने बहानामा कतिपय भक्तजनले समेत मदिरा सेवन गरेर झगडा गरिरहेका भेटिन्छन् ।
यता छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्र यादवले पुजारीहरूले नियमित रूपमा मदिरा सेवन गर्ने गरेको बताएका छन् । मदिरा ऐन र नियमावलीविपरीत मन्दिरको सौन्दर्य बिगार्ने गरी खुलेका मदिरा, माछा, मासु पसल बन्द गर्न लाखौं प्रयास गरे पनि नसकिएको यादवले बताए ।
मदिरा पिउने हतारोले पुजारीहरू त्यस साँझ मन्दिरको ढोका खुलै राखेर होटल गएपछि छिन्नमस्ता मन्दिरको मुकुट चोरी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही दिन साँझ ७ बजे मन्दिर प्रवेश गरेका विष्णुपुर गाउँपालिका–५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले भगवतीको मस्तक सहजै निकालेर लगेको लगेका थिए ।
Sponsored
मानसिक सन्तुलन ठीक नभएका राजेशले आफुनी ठूली आमालाई कोठामा लगेर देवीको मुकुट देखाए । घरपरिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे । वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादवलाई दिए ।
चोरी भएको १२ घण्टाभित्र भगवतीको मस्तकसहित आरोपित राजेश घरमै पक्राउ परे । उनी मानसिक रोगी भएकै कारण चोरी भएको मुकुट सहजै बरामद भएको राजेशका छिमेकी श्यामसुन्दर मण्डल बताउँछन् ।