प्रदेश २ मा लकडाउन पालना गराउन प्रहरीले माइकिङ थाले
टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।
प्रदेश २ मा लकडाउन पालना गराउन आग्रह गर्दै प्रहरीले माइकिङ थालेको छ । लकडाउन उलंघन गर्नेहरु संयमित नहुँदा सचेतना फैलाउन बिहीबारदेखि प्रहरीले प्रदेश २ को आठवटै जिल्लामा माइकिङ सुरु गरेको हो ।
लकडाउनको तेश्रो दिन प्रहरीले आठ जिल्लाको दुईसय स्थानमा माइकिंग गरेर सचेतना फैलाएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले टुडेपाटीलाई जानकारी दिए ।
‘कोरोना भाइरसबाट बच्न र लकडाउन पालना गर्न सचेतना फैलाउने उद्देश्यसहित आठवटै जिल्लामा माइकिङ थालिएको छ । माइकिङको लागि ८ सय ४२ प्रहरी परिचालन गरिएको छ’ प्रवक्ता सापकोटाले भने ‘ बिहीबार २ सय ठाउँमा गरेको माइकिङबाट ८ लाख मानिस प्रभावित भएका छन् ।’