जनकपुरबाट २३ मिनेटमै जयनगर पुग्यो रेल
टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।
लिक परिक्षणको क्रममा भारतीय रेल जनकपुरबाट २३ मिनेटकै अवधिमा भारतको जयनगर पुगेको छ । रेल्वे संचालनको पूव तयारीको क्रममा आइतबार लिकको परिक्षण गरिएको छ ।
लिकको परिक्षण गर्न भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेल जनकपुर आएको थियो । कुर्था स्टेशनबानट प्रति घण्टा १२० किलोमिटरको गतिमा लिक परिक्षण गर्दै गुडेको थियो ।
सो रेल २३ मिनेटमै भारतको जयनगर स्टेशन पुगेको रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले टुडेपाटीलाई बताए ।
‘रेल्वे लिकको सफल परिक्षण भएको छ । कुर्था स्टेशनबाट १२० किलोमिटर प्रति घण्टाको गतिमा लिक परिक्षण गर्दै गुड्दा मात्र २३ मिनेटमा जयनगर पुग्यो’ इन्जिनियर ओझाले टुडेपाटीसंग भने ‘अब रेल संचालनको लागि लिक पूर्ण सक्षम अवस्थामा छ । यो लिकमा १२० किलोमिटर प्रतिघण्टाको स्पीडमा रेल गुडाउन सकिन्छ ।’
जनकपुरको कुर्था स्टेशनबाट जयनगरको दुरी ३५ किलोमिटर रहेको छ । रेल्वे लिकको सफल परिक्षण भएपनि यातायात मन्त्री नहुँदा रेल्वे संचालनको लागि तयार संरचना हस्तान्तरणमा ढिलाइ भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलको लागि लिक, भौतिक संरचना, आवश्यक जनशक्ति र रेल समेत तयारी अवस्थामा रहेको छ ।
Sponsored