कांग्रेस नेता गच्छदारलाई धरौटीमा रिहा गरेका न्यायाधीश कार्कीको दुई दिनमै सरुवा
टुडेपाटी-
काठमाडौं, साउन ३ गते ।
बालुवाटारको सरकारी जग्गा किर्ते प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्की सरुवा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई विशेष अदालतले गएको ३० असारमा १० लाख धरौटीमा छाडेको थियो ।
विशेष अदालतको उक्त निर्णयको कतिपयले आलोचना गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत उक्त निर्णयप्रति असन्तुष्ट गरेका स्रोतको दाबी छ। सोही असन्तुष्टि स्वरुप कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रूपमा काज सरुवा गरिएको हो ।
अख्तियारमा मुद्दा चलेको डेढ वर्षदेखि फरार रहेका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएकै दिन उनलाई १० लाख धरौटीमा रिहा गरिएपछि यसलाई धेरैले आशंकाको नजरले हेर्दै आएका छन् ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव गच्छेदारले मन्त्रिपरिषदमा लगेको आरोप उनीमाथि लागेको छ ।
Sponsored
गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि ३० असारमा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
कार्की ८ महिनाअघि मात्रै विशेष अदालतको अध्यक्षमा नियुक्त भएका थिए ।