कोरोनाको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि बाङ्लादेशमा कडा लकडाउन, सडकमा सेना परिचालन
टुडेपाटी-
जनकपुरधाम, असार १७ गते ।
कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिन थालेपछि बंगलादेशमा कडा लकडाउन गरिएको छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सडकमा सेना र प्रहरी परिचालन गरेको छ । अत्यावश्यक काम र वस्तु खरिदका लागि बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्किन सरकारले आदेश दिएको छ ।
बिहीबार सुरु भएको लकडाउन कडा बनाउन सेना र प्रहरीले सहरभरि पेट्रोलिङ गरिरहेको अधिकारीहरुले जनाएका छन् । सरकारले एक हप्ताका लागि कडा लकडाउन घोषणा गरेको हो ।
‘सात दिनसम्म कसैलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन अनुमति छैन,’ सरकारले जारी गरेको सूचनामा भनिएको छ ।
Sponsored
ढाकाका प्रहरी प्रमुखले घरबाट अत्यावश्यक कामबाहेक बाहिर निस्किएको पाइए गिरफ्तार गरिने र जरिवाना तिराइने बताएका छन् । प्रहरी प्रमुख शाफिकल इस्लामले दैनिक ५ हजारभन्दा बढी संक्रमितहरु भेटिन थालेपछि लकडाउन थप कडाउनुपर्ने अवस्था आउने बताएका छन् ।
कडा लकडाउनपछि राजधानी ढाकाका सडकहरु खाली देखिएका छन् । बंगलादेशमा कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमण तीव्र रुपमा बढिरहेको अधिकारीहरुले जनाएका छन् । दक्षिण एसियाका झण्डै १६ करोड ८० लाख मानिस डेल्टा भेरियन्टको जोखिममा रहेको जनाइएको छ । एजेन्सी