सञ्चालनको तयारीमा रहेको धनुषा-सिरहा जोड्ने कमला पुल भासियो
टुडेपाटी-
जनकपुरधाम, असार १७ गते ।
सञ्चालनको तयारीमा रहेको नव निर्मित हुलाकी सडक अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला पुलको एउटा पाया भाँसिएको छ ।
सरकारले केही दिनपछि सञ्चालन गर्ने भनिएको कमला पुलको एउटा पाया बाढीले भासिएको हो ।
२०७८ साल असार १३ गते हस्तान्तर गरी सँचालनमा ल्याउने सम्झौता भएको कमला पूलको एक स्पान नै भाँसिएको हो ।
कमला नदीमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पूलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले जानकारी दिए ।
कमला नदीमा यसपाली आधा असारमै गत बर्षभन्दा करिब १ मिटर बढी पानीको सतह बढेको छ ।
Sponsored
लुम्बनी बिल्डर्सका इन्जिनियर सुर्यप्रकाश शर्माले जानकारी केहिदिन अघि पुल निर्माणको ९९ प्रतिशत काम पुरा भइसकेको फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएका थिए । झण्डै दुईसाता अघि उनले अब बढीमा १५ दिनभित्रै निर्माण कार्य पुरा हुने भनेका थिए ।
४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । तर ७ वर्षमा वित्दा पनि ढिलोसुस्तीका कारण ३५ प्रतिशत मात्र काम भयो । पछि पप्पु कन्ट्रक्सनले हात झिक्यो । अनी निर्माणको पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सको काँधमा गयो । ११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ ।
दुइसाता अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले निर्माणाधिन पुलको निरीक्षण गरेरे उनले तटबन्ध मजबुत बनाउनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउँदै पुल निर्माण भएपछि यस भेगका जनतालाई ठूलो राहत हुने पनि बताएका थिए ।
कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएको छ । तर बहुप्रतिक्षित कमला पुलको एक पाया भासिएपछि यस क्षेत्रका जनताको सपना चकनाचुर भएको छ ।
गुणस्तरहिन पुल भएकै कारणले भासिएको स्थानीयको अारोप छ ।