प्रधानमन्त्री ओलीले संघीयता मास्न खोज्दैछन् : मुख्यमन्त्री राउत
टुडेपाटी-
सिरहा, असार १७ गते ।
प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीले संघीयता मास्न खोजिरहेको आरोप लगाएका छन् । संघीयता कार्यान्वयनमा ओली सरकारको उदासीनताले उनी संघीयता मास्न खोजिरहेको कुरा प्रष्ट देखिएको मुख्यमन्त्री राउतकाे टिप्पणी छ । बुधबार सिरहाको विष्णुपुर गाउँपालिकाको सातौँ गाउँसभामा राउतले स–साना बजेटहरू पनि संघले आफैँ परिचालन गर्नुले ओली संघीयताविराेधी देखिएकाे बताए ।
संघीय सरकारले १०/२० लाखका योजनाहरू पनि आफैँले कार्यान्वयन गरेर स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको उनकाे भनाइ छ । ‘देशमा तीन तहका सरकार छन्’, उनले भने, ‘तर स-साना योजनाहरू पनि संघीय सरकारले नै चलाउँदै छ ।’
प्रदेश र स्थानीय तहले गर्नुपर्ने मसिना कामहरूमा पनि संघले हात हालेर संघीयताकै खिल्ली उडाएको राउतले बताए ।
मुख्यमन्त्री राउतले बजेट विनियोजनमा पनि केन्द्र सरकारले प्रदेश २ माथि विभेद गरेको आरोप लगाए । उनले संघीतामा प्रदेशहरूलाई बजेट विनियोजन गर्दा जनसंख्या र त्यसको गरिबीलाई मापदण्ड बनाउनुपर्ने जिकिर गरे ।
‘जनसंख्याको हिसाबले सबैभन्दा धेरै जनघनन्व भएको र कर्णाली प्रदेशभन्दा पनि एक दुई विषयबाहेक धेरैमा कमजोर रहेको प्रदेश २ लाई थोरै बजेट दिएर विभेद गरिएकाे । यो संघीयताको बर्खिलाप हो ।’
Sponsored
मुख्यमन्त्री राउतले संघबाट आएको थोरै बजेट कार्यन्वयनमा पनि कर्मचारीहरूको असहयोग हुने गरेको बताए । यसैबीच, विष्णुपुर गाउँपालिका प्रमुख जागेश्वर यादवको अध्यक्षतामा सम्पन्न गाउँसभाले आर्थिक वर्ष ०७८/७९ को लागि ३५ करोडको बजेट सार्वजनिक गरेको छ ।