सिरहामा खाेलामा बाँसकाे पुल बनाएर यात्रुसँग पैसा असुली, तालुकदार निकाय मुकदर्शक
विनय यादव-
सिरहा, असार १७ गते ।
अविरल वर्षासँगै खोला उर्लिएकाे छ । खाेलामाथि सर्वसाधारणका लागि पुल पनि छ । तर, पुलमा सित्तैमा तर्न भने पाइँदैन । किनकि, त्यो पुल कुनै सरकारले बनाइदिएको पक्की पुल होइन, व्यक्तिले बनाएको बाँसको पुल हो ।
पक्की पुल भने निर्माणाधीन छ । हुलाकी सडकखण्डअन्तर्गत सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा बाँसको अस्थायी पुल बनाइएको छ । हुलाकी सडक भएर आवतजावत गर्ने यात्रुहरूले स्थानीय व्यक्तिले बनाएको बाँसको त्यो अस्थायी पुल भएर तरेबापत पैसा तिर्नु परिररहेकाे छ ।
सिरहा नगरपालिका-५ का रामजतन महतोले मोटरसाइकलसहित खोलामा बाँसका भाटाको पुल तर्दा ५० रुपैयाँ तिर्नुपर्याे। ‘गाउँ-गाउँमा सिंहदरबार आएको यही हो ?’, उनले प्रश्न गरे, ‘स्थानीय सरकार आएपछि नागरिकलाई सहज होला भन्ने आशा थियो । तर, खै ?’
औरही गाउँपालिका-३ का राजेन्द्र यादवले साइकलसहित पुल तर्दा २० रुपैयाँ तिरे । पुल तरेबापत पनि पैसा तिर्नुपर्दा आफूलाई ठीक नलागेको उनले बताए ।
Sponsored
स्थानीय तहको निर्णयबिना सार्वजनिक स्थानमा बिनाइजाजत कुनै निजी संरचना बनाएर त्यसबाट कसैले रकम असुल्न पाउँदैन । तर, गागन खोलामा बाँसको अस्थायी पुल बनाएका स्थानीय व्यक्तिले आउने जाने प्रत्येक व्यक्तिसँग अवैध १० रुपैयाँदेखि ५० रुपैयाँसम्म असुल्ने गरेका छन् ।
उनीहरूले पैदल यात्रीसँग १० रुपैयाँ, साइकल यात्रीसँग २० रुपैयाँ र मोटरसाइकलमा आएका सर्वसाधारणसँग ५० रुपैयाँ लिने गरेका छन् । वारिबाट हिँड्दा एउटा र पारिबाट हिँड्दा अर्काेले पैसा असुल्ने गर्छन् । दैनिक सयौँ मानिस हुलाकी सडक हुँदै आउजाउ गर्छन् ।
तर, सार्वजनिक स्थानमा निजी पुल बनाएर ती व्यक्तिहरूले यात्रुसँग मनपरि असुली गरिरहँदा स्थानीय प्रशासन भने मुकदर्शक देखिएकाे छ ।
पक्की पुल नबनुञ्जेलसम्मका लागि विकल्पका रूपमा खोलामा तत्काल बाँसकै पुल भए पनि बनाइदिन गाउँपालिकासँग स्थानीयहरूले पटकपटक आग्रह गरेका छन् । तर, गाउँपालिकाले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।
स्थानीय सरकारले मतलब नगरेकै कारण कोही व्यक्तिले सर्वसाधारणको बाध्यताको फाइदा उठाउने काम गरिरहेको स्थानीयको भनाइ छ । गागन नदीमा वर्षौंदेखि सुस्त गतिमा निर्माणाधीन पुलकाे छेउमा हल्लिइरहने बाँसकाे कमजोर र साँघुरो पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकोे यात्रुहरू बताउँछन् ।
स्थानीय पत्रकार देवकुमार यादव तत्कालका लागि अस्थायी पुलसमेत बनाउन नसकेकाे स्थानीय सरकारलाई अनत्तरदायी भन्छन् । यसबारे कुरा गर्न खाेज्दा औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादव तर्किए । सिरहाका प्रहरी प्रमुख एसपी हिरा पाण्डेले अनभिज्ञता जनाउँदै प्रतिक्रिया दिन चाहेनन् । यो त अवैध हो नि ? भनेर प्रश्न गर्दा उनले फोन नै काटिदिए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने आपतको समयमा एकअर्कालाई सहयोग गरेर सेवा भाव देखाउनुपर्नेमा बाध्यताको कसैले फाइदा उठाउनु खेदजनक भएको बताए । उनले यो विषय बुझेर सच्याउन लगाउने पनि जनाए ।