प्रदेश २ : जग्गा विवादको कारण रोकियो हुलाकी राजमार्गको काम
टुडेपाटी-
सप्तरी, असार १५ गते ।
पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ ।
बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालयपूर्व र शत्रुघन चौकदेखि पश्चिमबीचको करिब ३०० मिटर सडक निर्माण अवरुद्ध भएको हो ।
बोदे बर्साइन नगरपालिका– ५ बजारको उक्त सडकमा कब्रिस्तानको पर्खाल परेपछि सो पर्खाल भत्काउन नमानेका कारण निर्माण काम अवरुद्ध भएको जनाइएको छ । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।
कब्रिस्तानको करिब डेढ मिटर पर्खाल सडकको मापदण्डमा पर्ने भएकाले पर्खाल भत्काउन नमान्दा त्यस खण्डमा निर्माण काम सुरु नभएको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि कमलप्रसाद यादवले जानकारी दिए ।
Sponsored
जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको भन्दै उनले जग्गा अधिग्रहण गर्न नगरपालिका र वडा कार्यालयले पहल नगरेका कारण समस्या यथावत् रहेको बताए ।
सो सम्बन्धमा नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जग्गा प्राप्तिका लागि पटकपटक पहल गरे पनि कब्रिस्तानका मानिसले नमानेको बताए । उक्त जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उनको भनाइ छ । रासस