महोत्तरीकी सुजिताको हत्या आरोपमा श्रीमान् र देवर प्रहरी नियन्त्रणमा, ससुरा अझै फरार
टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।
महोत्तरीमा २३ दिनपछि शव गाडिएको अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् र देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आंशकामा आइतबार प्रहरीले उनका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई पक्राउ गरेको छ भने ससुरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
घटनाको छानविनका लागि मृतकका श्रीमान् र देवरलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सुजिताको माइती पक्षले भने हत्यामा श्रीमानको संलग्नता नरहेको बताएको छ । देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि उनीहरुको शंका छ ।
पतिराम गाउँका सम्पन्न व्यक्ति रहेकोले प्रहरीलाई प्रलोभनमा पारेर अनुसन्धान नै प्रभावित पारेको आरोप माइती पक्षको छ । सुजिताका भाई शिवम् पाण्डेका अनुसार प्रहरीमा उजुरी दिन गए पनि महोत्तरीका प्रहरीले दर्ता गर्न मानेका थिएनन् ।
Sponsored
मृतक सुजिताको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइए पनि पछि थप जाँचका लागि अन्यत्र पठाउन सकिने डीएसपी विष्टले बताए ।
गत १९ जेठको बिहानै मृतकको घरमा सुजिता र उनको देवर तथा ससुराबीच झगडा भएको थियोे । त्यस लगत्तै उनी सम्पर्कविहीन भएकी थिइन् । तर, सुजिताको परिवारले उनी अर्को केटासँग भागेको बताउँदै आएको थियो ।
माइती पक्षको सहयोगमा आज आफ्नै खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको हो ।