जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ५३ करोड बजेट, तालिम, बैठक भत्ता र सवारीसाधन खरिद प्राथमिकतामा
टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।
जनकपुरधाम उपमहानगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । बिहीबार उपमहानगरको सातौँ नगरसभाबाट आगामी आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ ।
आज उपप्रमुख रीताकुमारी मिश्रले आर्थिक वर्ष ०७८/०८९ को बजेट प्रस्तुत गरेकी हुन् ।
उनले चालुतर्फ ९५ करोड ७५ लाख ६१ हजार अर्थात् ६२.२३ प्रतिशत र पुँजीगततर्फ ५८ करोड १२ लाख अर्थात् ३७.७७ प्रतिशत रकम विनियोजन गरेको छ ।
वडाध्यक्षहरूको विवादबीच बजेट ल्याएको उपमहानगरले बजेटमा स्वास्थ्य, शिक्षा तथा कृषिभन्दा तालिम, बैठक भत्ता, सवारीसाधन खरिदलाई बढी प्राथमिकता दिएको छ ।
उपमहानगरले सवारीसाधन खरिदको लागि मात्र ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ भने सवारीसाधन मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको हो ।
Sponsored
उपमहानगरले ०७८।७९ को बजेटमा कार्यक्रम खर्च शीर्षकमा ५ करोड ३८ लाख ७१ हजार, पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ५० लाख, सभा सञ्चालन खर्चका लागि ३० लाख रकम विनियोजन गरेको हो ।
विभिन्न कार्यक्रमको शीर्षकमा समेत बजेट छुट्याइएको छ । आगामी वर्षका लागि युवालाई सीप विकास तालिमका लागि ९९ लाख, सार्वजनिक सम्पत्ति मर्मत–सम्भारका लागि २ करोड ५५ लाख, विद्युत् संरचना निर्माणका ५ करोड ६१ लाख, अन्य सार्वजनिक निर्माण शीर्षकमा १ करोड बजेट छुट्याइएको छ ।
नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेटबारे केही खुलाइएको छैन ।
त्यस्तै फोहोर–मैला व्यवस्थापनका लागि बजेट उल्लेख छैन भने सो शीर्षकमा चालु वर्ष कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन ।