TodayPati

लाइसेन्सको नयाँ नियम लागु हुँदै, आफ्नै सवारीले ट्राइल दिन पाउने

टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।

सरकारले सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी नवीकरण गर्ने गरी सवारीचालक लाइसेन्स पाइने अहिलेको व्यवस्था हटाइएको छ ।

‘यसको ठाउँमा १ साउनदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइने यातायात विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । विभागका अनुसार परीक्षण लाइसेन्स पाएको व्यक्तिले तोकिएको समयावधिभित्र पाँचपटकसम्म नियम उल्लंघन गरेमा पुनः नयाँ परीक्षा दिनुपर्नेछ । परीक्षण लाइसेन्सको रूपमा अहिले प्रयोग भइरहेको स्मार्ट लाइसेन्स दिइनेछ । तर, त्यसमा चिप्स भने हुनेछैन ।

Sponsored

त्यस्तै, साउनदेखि नै लाइसेन्स प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन गरेको छ । सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले आफैँले सवारीसाधनको व्यवस्था गर्ने व्यवस्था गरिएको छ । तर, तोकिएको निश्चित मापदण्ड भने पूरा गरिनुपर्छ । प्रयोगात्मक परीक्षामा प्रयोग हुने कार, जिप वा भ्यान पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्छ । इन्जिन कम्तीमा ७५० सिसी हुनुपर्नेछ । व्हिल–बेस कम्तीमा २३०० मिलिमिटर लम्बाइ, चौडाइ र उचाइ कम्तीमा ३३००, १४५० र १४५० मिलिमिटर हुनुपर्नेलगायत छन् ।

त्यस्तै, मोटरसाइकल वा स्कुटरको हकमा पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सिसी भएको, ह्विल–बेस कम्तीमा १२ सय मिलिमिटर भएको हुनुपर्नेछ । यसबाहेक मोटरसाइकलको हकमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको, सवारीदर्ता प्रमाणपत्र अद्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्षको बिमा भएको हुनुपर्नेछ । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ । नयाँ पत्रिकाको सहयोगमा

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *