फोहोरी राजनीतिमा जनप्रतिनिधि मालामाल : बर्खामा सडकको बेहाल, खोला सफाईमै ४० लाख झ्वाम !
टुडेपाटी-
पर्सा, असार ७ गते ।
पर्साका ग्रामीण भेगका टोलहरुमा बर्खाका कारण सडक हिलाम्मे बनेपछि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
पर्साको कालिकामाई गाउँपालिकाको विभिन्न वडामा निर्वाचित जनप्रतिधिहरु फोहोरी राजनीतिमा व्यस्त रहेका कारण स्थानीयहरुले सास्ती भोगिरहेका छन् ।
जनप्रतिनिधिहरु विकास निर्माणको कार्यलाई लत्याएर कसरीबढी भन्दा बढी कमिसन असुली गर्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका कारण स्थानीयहरुले वर्षा याममा सास्ती खेप्नु परेको स्थानीयको आरोप छ ।
गाउँपालिकाको वडा नं. ५ मा पर्ने बलुवा गाउँमा सडक जीर्ण भई घुँडासम्म पानी जमेर सडक हिलाम्मे भएको कारण स्थानीयहरुलाई आवतजावत गर्नमा समस्या भएको स्थानीय आनन्दकुमारले बताए । बलुवास्थित शम्भू पासवानको घरदेखि महिन्द्र पासवानको घरसम्म र शम्भू पासवानको घरदेखि साहेब पासवानको घरसम्मको बाटो हिँड्नै नसक्ने अवस्था छ ।
‘सवारीसाधनको कुरै छाडौँ पैदल हिँड्न समेत समस्या भइरहेको छ’, स्थानीय आनन्द कुमारले भने,’विगत तीन महिना भन्दा अगाडिदेखि नै सडक विग्रेको हो तर वडाध्यक्षलाई पटकपटक सडक मर्मतको लागि आग्रह गर्दा पनि ध्यान नदिएकोले यस्तो अवस्था आएको छ ।’
Sponsored
वडाध्यक्ष अहिले जनताको सेवा भन्दा पनि प्रचार बाजीमा लागेको कारण जनताहरुले सास्ती खेप्नु परेको उनको भनाइ छ । वडा नं. ५ मा पर्ने बलुवा टोलमा बढी दलित समुदायको बसोबास भएका कारण जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको स्थानीय बताउँछन् ।
दलित समुदायका व्यक्तिहरु खासै शिक्षित नभएको भन्ने घृणित मनसायको कारण जनप्रतिनिधिहरु त्यहाँ विकास गर्नुभन्दा पनि भोट मात्रै असुल्ने बैंक बुझेको कारण पनि त्यहाँ विकास हुन नसकेको स्थानीयहरुको आरोप छ ।
यस्तै, कालिकामाई गाउँपालिकाको वडा नं. २ को विभिन्न ठाउँमा बाटो हिलाम्मे भएको छ । भेडिहारीको उत्तर टोल, दक्षिण टोल र सानो गदियानीमा समेत बाटोमा खाल्डाखुल्डी भएर वर्षाको पानी जमेको कारण हिलाम्मे भएको छ ।
आर्थिक मसान्तको अन्तिममा आएर मनसुन सक्रिय भएको बेला नालाको निर्माणको कार्य थालनी गरेपछि पानीको निकाश हुन नसकेको कारण बाटोमै पानी जमेर हिलाम्मे भएको हो ।
बिना काम नदी सफाईमा ४० लाख झ्वाम
विकास निर्माणको कार्यलाई छाडेर बढी कमिसन आउने खोला सफाईमा पालिकाले यस आर्थिक वर्षमा लाखौं रुपैयाँ खर्च गरेको छ ।
जीर्ण बाटो मर्मत गर्न नसकेको पालिकाले खोला सफाईमा मात्रै ४० लाख बजेट खर्च गरेको छ । आर्थिक बर्ष २०७७÷७८ को योजना अन्तर्गत उपभोक्ता समितिमार्फत भएको खोला सफाईमा ४० लाख खर्च भएको गाउँपालिकाको योजना शाखा प्रमुख सुनिलकुमार रौनियारले जानकारी दिए ।
मोटो रकम कमाउनको लागि बिना कामको नदी सफाई गाउँपालिकाले गराएको स्थानीयहरुको आरोप छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले बढी कमिसन आउने भएपछि सडक निर्माण भन्दा पनि नदीको सफाई गराएको स्थानीयहरुले आरोप लगाएका हुन् ।