किर्तेमा महन्थ ठाकुर प्रथम : अर्थ मन्त्री यादव
टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आफूलाई जसपाको अध्यक्ष भन्ने महन्थ ठाकुरको किर्ते पत्रले वर्तमान राजनीतिकको स्तरीयता झल्काएको बताएका छन् ।
गत पुस ७ गते पार्टीको निर्णयहरु सहित दुवै अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरको सँयुक्त हस्ताक्षरले जारी गरिएको निर्णयहरुलाई बँग्याएर जालसाजी गरेको आरोप लगाउँदै उनले जीवनको केही समय बाँकी रहँदा ओलीकै बाटोमा हिडन लागेको आरोप पनि लगाए ।
महन्थ ठाकुरले जसपाको कार्यकारिणी सदस्य थपघट गर्ने अधिकार बैठकले आफूलाई दिएको दावी गर्दै कार्यकारिणी सदस्य थपेर आफ्नो पक्षमा बहुमत पुर्याएर निर्वाचन आयोगमा कागजात बुझाएको भन्दै जालसाजी गरेर आत्मग्लानी गर्ने समय आउने बताए ।
जसपाका प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका मन्त्री यादवले पुस ७ गतेको बैठकले नै आफूलाई कार्यकारिणी सदस्य थपघट गर्ने अधिकार दिएको दाबी गर्नु नै जालसाजी गरेको बताए ।
महन्थ ठाकुर पक्ष ओली समूहकै प्रतिगमनवादी धारको मतियार बनेर फर्जी कार्यहरु गरिरहेको आरोप लगाएका छन् ।
Sponsored
ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिति सदस्यको व्यापक हेरफेर गर्दै निर्वाचन आयोगमा पत्र पठाएको भन्दै फर्जी कार्य रहेको सुनाए ।
‘अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकटका व्यक्तिहरुलाई नयाँ सदस्य थपेर मनोनित गरेका छन्’ उनले भने ।जेठ ३ गते कार्यकारिणी समिति सदस्यको हेरफेर गरेको बताउँदै हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाएको छ ।
पुस ७ गतेको कार्यकारिणी समितिले गरेको निर्णय भनी पेश गरिएको प्रतिलिपी समेत फर्जी रहेको बताउँदै उनले दुवै अध्यक्षको हस्ताक्षर सहित प्रतिगमनकदमको विरोध गर्ने तालीका समेत उल्लेख गरिएको छ, साथै उक्त माइन्युटमा कही कतै महन्थ ठाकुरले दावी गरे जस्तो कुनै निर्णय भएकै छैन ।’– उनले भने ।
जेठ ६ गते बोलाएको हेरफेर गरिएको कार्यकारिणी समिति सदस्यको बैठकले संसदीय दलको नेता चयन गर्ने संसदीय दलको बैठकको निर्णय, संसदीय दलको विधानलगायत अनुमोदन गराएको उक्त निर्णय आफैमा विवादित रहेको मन्त्री यादवले बताए ।
जसपाको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित चार जनालाई पहिलो चरणमा र बाँकी ९ जनालाई दोस्रो चरणमा पार्टीबाट निष्कासन गरेको थियो ।
हाल दुई पक्षबीच आधिकारिकताको विवाद छ ।