भारतमा कोरोना महामारीको तेस्रो लहर आगामी अक्टोबरमा आउनसक्ने
टुडेपाटी-
नयाँदिल्ली, असार ५ गते ।
समाचार संस्था रोयटर्सका स्वास्थ्य विशेषज्ञहरुले गरेको एक सर्वेक्षण अनुसार भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर आगामी अक्टोबरमा आउन सक्छ ।
तर कोरोना भाइरस महामारीको तेस्रो लहरलाई उचित सावधानी अपनाउन सकेमा नियन्त्रणमा लिन सकिने उल्लेख छ । अर्को एक वर्षसम्म कोरोना भाइरसको महामारी स्वास्थ्य खतराका रुपमा भने रहने जनाइएको छ ।
४० विशेषज्ञहरुले जुन ३ देखि १७ सम्म गरेको सर्वेक्षण अनुसार खोप अभियानका कारण अहिले जारी संक्रमणको दोस्रो लहरमा केही कमि आएको छ ।
सर्वेक्षणमा सामेल भएका ८५ प्रतिशत विशेषज्ञका अनुसार अर्को लहर अक्टोबरमा आउने छ । तर तीन विशेषज्ञले भने तेस्रो लहर अगस्टको सुरुवात वा सेप्टेम्बरको मध्यतिरै सुरु हुने बताएका छन् ।
Sponsored
अरु तीन विशेषज्ञले भने कोरोना भाइरस महामारीको तेस्रो लहर आउँदो नोभेम्बरदेखि फेब्रुअरीको बिचमा आउनसक्ने बताएका छन् ।
अबको कुनै पनि लहर हालको भन्दा बढि नियन्त्रित हुने ७० प्रतिशत विशेषज्ञको भनाई छ । एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले भनेका छन्, ‘अबको लहर अधिक नियन्त्रित हुनेछ र संक्रमण पनि कम देखिने छ किनकी धेरैले खोप लगाइसकेका हुने छन् । धेरैमा प्रतिरोधात्मक क्षमता पनि विकास भएको हुने छ ।’
अबको लहर १८ वा त्यो भन्दा कम उमेरका व्यक्तिमा जोखिमपूर्ण हुने झण्डै दुई तिहाई विशेषज्ञको भनाई रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । तर १४ विशेषज्ञले भने बालबालिकालाई खतरा नरहेको बताएका छन् । एजेन्सी