देशमा अब व्यापारीको मनोमानी चल्दैन : उद्योगमन्त्री यादव
विनय यादव-
सिरहा, असार ५ गते ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन् ।
मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार पहिलोपटक गृहजिल्ला आएका मन्त्री यादवले सिरहाको चोहर्वास्थित रेडक्रसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘व्यापारी व्यवसायीहरुको प्राथमिकतामा व्यवसायसँगै सेवा भाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन ।’
ठूलठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दावी गरे । जनतालाई हित हुने गरी सेवा भावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमि नहुने पनि मन्त्री यादवले बताए ।
उद्योगी व्यवयासीहरुको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने उनको भनाइ छ । ‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’
Sponsored
कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाए । मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै यही मन्त्रालय भएकाले आफूले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
वर्षायामका महिनामा हरेक वर्ष देशमा खाद्यान्नको अभाव देखिने गरेको भन्दै अब त्यो समस्या अन्त्य हुने उनले बताए । खाद्यान्न तथा उपभोग्यलगायतका सामाग्री आपूर्तिमा कुनै किसिमको समस्या आउन नदिने गरी काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेकोसमेत मन्त्री यादवले जानकारी दिए ।