एकसाताका लागि देश ‘लकडाउन’, जनकपुरमा भने चहलपहल
टुडेपाटी-
जनकपुरधाम, चैत ११ गते ।
कोरोना संक्रमणको महामारीबाट बच्न सरकारले आजदेखि ‘लक डाउन’ गरेको छ । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पाइएपछि सरकारले आज (मंगलबार)बिहानदेखि
अत्यावश्यक सेवाबाहेक अरू कामका लागि १ हप्तासम्म अर्थात् चैत १८ गते बिहान ६ बजेसम्म कसैलाई घरबाट ननिस्कन प्रतिवन्ध लगाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको थियो ।
अहिलेका लागि एक साता लकडाउन गर्ने निर्णय भएको समितिले जनाएको छ । यस अवधिमा सवारीसाधन चल्ने छैनन् भने मानिसलाई घरभित्रै बस्न लगाइनेछ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन् ।
त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ । ऐनको आदेश अटेर गर्नेलाई १ महिना कैद र १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
Sponsored
त्यस्तै सरकारी अधिकारीको काममा बाधा र्पुयाउने व्यक्तिलाई हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्नेछ ।
तर औषधिउपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन पाउनेछन् ।
फ्रान्सबाट फर्किएकी १९ वर्षीया नेपाली छात्रामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रिपोर्ट सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । सरकारले भारत र चीनसंगका सबै नाका पनि पूर्णरुपले लक गरेको छ ।
सरकारले बिहानैबाट लकडाउन गरेर कसैलाई घरबाट ननिस्कन प्रतिवन्ध लगाएतापनि जनकपुर बजारमा सर्वसाधाराण्को आउजाउ र चहलपहल देखिएको छ ।