TodayPati

सप्तरीमा पोखरीमा डुबेर २३ बालबालिकाको मृत्यु

शुभ नारायण यादव-
सप्तरी, असार १ गते ।

सप्तरीमा पोखरीमा डुबेर एक वर्षमा २३ जना बालबालिकाको मृत्यु भएको छ । पछिल्लो पटक सप्तरीको महादेवा गाउँपालिका–२ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

स्थानीय अनिल मण्डलकी ५ वर्षीया छोरी अपेक्षा कुमारी मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । आफ्नै घर नजिकै रहेको पोखरीमा आफन्तसंग नुहाउन जाँदा बालिका डुबेकी थिइन । डुबेर बेहोस भएकी बालिकालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।

Sponsored

डिएसपी काफ्लेका अनुसार जेठ महिनामा मात्रै अन्य ४ जना बालबालिकाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका–९ की १३ वर्षिया रोशनी सरदार, तिरहुत गाउँपालिका–१ का ११ वर्षिय मनिष मुखिया र बोदेबरसाइन नगरपालिका–३ की १८ महिनाकी अस्मिता यादवको पोखरीमा डुबेर मृत्यु भएको डिएसपी काफ्लेले बताए ।

योसँगै गत वर्ष मात्रै १३ बालबालिकासहित २३ जनाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्यांक छ । सो तथ्यांकअनुसार सप्तरीमा पोखरीमा डुबेर मृत्यु भइरहेको घटना बढ्दो नै देखिएको छ । विशेष गरि गर्मीको समयमा यो घटना बढी हुने गरेको पाइएको डिएसपी काफ्लेको भनाइ छ ।

गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरवाहीका कारण यस्तो घटना बढी हुने गरेको उनले बताए ।

Sponsored

‘डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडी मुख्यत अभिभावकको लापरवाही नै देखिएको छ’ उनले भने, ‘घर नजिकैको पोखरीमा स–साना बालबालिका नुहाउन जाँदा अभिभावकले निगरानी गर्नुपर्ने हो । तर बालबालिकामाथि अभिभावकले निगरानी राखेको देखिदैन, जसको कारणले अनाहकमै बालबालिकालाई ज्यान गुमाउनु परेको छ ।’

उनले यस्तो घटना बालबालिकालाई जोगाउनको लागि पोखरी, नहर, कुलोसहितका जलाश्य भएको स्थानमा जान नदिन डिएसपी काफ्लेले अभिभावकसँग आग्रह समेत गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *