प्रदेश २ का तीन जिल्लामा निषेधाज्ञा थपियो, सिरहामा असार १५ सम्म
टुडेपाटी-
जनकपुरधाम, असार १ गते ।
प्रदेश नम्बर २ का थप ३ जिल्लामा निषेधाज्ञा थपिएको छ । महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ भने सिरहामा लगाइएको निषेधाज्ञा १५ दिनका लागि थप गरिएको छ ।
वैशाख २१ देखि लगाइएको निषेधाज्ञा जोखिम कायमै रहेको भन्दै १५ दिनका लागि थप भएको हो । अब असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने छ ।
जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।
निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका सेवा भने बन्द रहने छन् ।
यस्तै खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने छ ।
Sponsored
होटल व्यवसाय भने अनलाइन वा फोनबाट बुकिङ गरी होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि बिहान ९ बजदेखि दिउँसो १ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्मको समय तोकिएको छ ।
सिरहामा कोभिडको दोस्रो लहरमा हालसम्म एक हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने ९५ जनाको मृत्यु भएको छ ।
९३४ जना संक्रमित निको भएका छन् । सिरहामा हाल संक्रिय संक्रमितको संख्या ४१२ छ ।
त्यस्तै सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा लगाइएको छ भने निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ ।
त्यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सर्लाहीले समेत एक साता निषेधाज्ञाका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जिल्लामा कोभिड संक्रमणको जोखिमको अवस्था समीक्षा गर्दा कोभिड संक्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआएकोले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताए ।