गण्डकी प्रदेशका मुख्यमन्त्रीमा काँग्रेस दलका नेता पोखरेल नियुक्त
टुडेपाटी-
पोखरा, जेठ २९ गते ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । ३१ जना सांसदको उपस्थितमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् ।
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्म दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।
शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । तर विश्वासको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दाबी गरेपछि गण्डकीको राजनीतिले नाटकीय मोड लिएको थियो । विश्वासका मत गुमाएका गुरुङ नेकपा ओली पक्षका नेता हुन् ।