भारतमा बालबालिकाको लागि कोरोनाविरुद्धको ‘कोभ्याक्सिन’ खोपको परीक्षण सुरु
टुडेपाटी-
नयाँदिल्ली,जेठ २५ गते ।
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमवारदेखि बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘कोभ्याक्सिन’को परीक्षण सुरु भएको छ । उक्त भ्याक्सिनको क्लिनिकल ट्रायलो स्क्रिनिङ थालिएको हो । पहिलो चरणका लागि १२ देखि १८ वर्ष उमेर समूहका केही बालबालिकाको स्वास्थ्य जाँच गरिएको छ ।
एम्स (पटना) का मेडिकल सुपरिटेन्डेन्ट प्रोफेसर सीएम सिंहका अनुसार पहिलो चरणमा अस्पतालमा तीन बालबालिकालाई भ्याक्सिन दिइएको छ। भारतभर हालसम्म कुल २५ जना बालबालिकालाई भ्याक्सिन दिएर उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको छ ।
अमेरिका, क्यानडा, ब्रिटेन, सिंगापुर र संयुक्त अरब एमिरेटले भने बालबालिकाको लागि खोपको अनुमति दिइसकेको छ । चीनमा पनि हालै तीन वर्षभन्दा माथि उमेर समूहका बालबालिका एवं किशोर किशोरीलाई खोप लगाउने अनुमति दिइएको छ ।
फाइजर र मडेर्नाजस्ता कम्पनीले पनि बालबालिकामा परीक्षण पूरा गरिसकेका छन्।
भारतको नीति आयोगका डाक्टर वीके पलका अनुसार त्यहाँ कोभ्याक्सीनसँगै जायडस नामको भ्याक्सिनको पनि बालबालिकामा परीक्षण भइरहेको छ ।
बीबीसी हिन्दीका अनुसार संक्रमणको तेस्रो लहर आउने आशंकासँगै अभिभावकले बालबालिकाका लागि खोपबारे प्रश्न गरिरहेका छन् । आइसीएमआरका पूर्व महानिर्देशक डाक्टर गांगुलीका अनुसार बालबालिकामा परीक्षण भइरहेको पनि पहिले १८ वर्ष माथिकालाई दिएकै भ्याक्सिन हो ।
Sponsored