TodayPati

रौतहटको हजमिनियामा ४ वर्षमा पनि बनेन पक्की सडक, डुबान र धुलोले पीडित स्थानीय

टुडेपाटी-
रौतहट, जेठ २५ गते ।

रौतहटमा लामो समयदेखि सडक निर्माणको काम अवरुद्ध भएपछि स्थानीयवासीहरुले सास्ती खेप्नु परिरहेको छ । गौर गंगापिपरा सडकखण्डको राजदेवी नगरपालिका वडा नं. २ र ५ स्थित हजमिनियामा लामो समयदेखि अवरुद्ध सडक नबन्दा स्थानीयवासी पीडित भएको हो ।

उक्त मुल सडकको निर्माण कार्य विगत ४ वर्षदेखि अधुरो रहेको स्थानीय बताउँछन् । सडक डिभिजन कार्यालयको लागतमा निर्माण सम्पन्न हुने भनिएको सो सडक वर्षामा डुबान र गर्मीमा धुलोका कारण स्थानीयलाई सास्ती भोगिरहनु परेको छ ।

Sponsored

झण्डै सय मिटर लम्बाइको सो सडकमा दुवै तथा ढल बिचमा डिभाइडरसहितको डिजाइन छ । सो सडक निर्माणका लागि राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहको आफन्तको नाममा रहेको फर्म एल एक्स कन्सट्रक्सनले कुल ९६ लाखको टेण्डर आर्थिक वर्ष ७३/७४ मा ५६ लाखमा साकार गरेको थियो । सडक विभागले गरेको टेण्डरको काम हाल सम्म सम्पन्‍न हुन सकेको छैन ।

बाटो बनाउने भन्दै भएको कालोपत्रे सडक खनेर काम अधुरो पार्दै ठेकेदार कम्पनीले काम बन्द गरे वर्षौं बितिसक्दा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयको आरोप छ । नगरप्रमुखको कमिसनको चक्करमा आफूहरुले दुःख भोग्नु परेको स्थानीय नन्दलाल महतो सुनाउँछन् ।

आफन्तको फर्ममा टेण्डर लिएर भएको सडक समेत बिगारेर वर्षौं देखी डुबान र धुलोमा मेयर सिंहले बस्न बाध्य बनाएको महतोको आरोप छ ।

Sponsored

यसैगरी सोही सडकखण्डमा बनाइने भनिएको डिभाइडरमा समेत गुणस्तरहीन काम भएको स्थानियको आरोप छ । गुणस्तरहिन ढलान र प्लास्टरका कारण डिभाइडर दिगो नहुने स्थानीय हरिन्द्र पण्डितले बताए । न्यून गुणस्तरको बालुवा र सिमेन्ट प्रयोग गर्दै भइरहेको सो कामको छानबिन हुनुपर्ने उनले माग गरे ।

सडक डिभिजन कार्यालय, राजदेवी नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत अधुरो बाटो निर्माण कार्य सम्पन्न गराइ दिन बारम्बार निवेदन दिए पनि हालसम्म कसैले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *