TodayPati

वीरगञ्जमा ब्ल्याक फंगसबाट तीनजनाको मृत्यु, ५ जना थप उपचारको लागि भारत रिफर

टुडेपाटी-
वीरगञ्ज, जेठ १९ गते ।

वीरगञ्जमा ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो ।

Sponsored

बाँकी पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले जानकारी दिए । 

‘यसको उपचार नेपालमा सम्भव नै छैन । त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ ।’ 

डा. सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज महानगरपालिका–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए ।

Sponsored

‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ । तर, ती महिलालाई बचाउन सकिएन । त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो ।’

ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृत्यु भएको उनले बताए । भने, ‘आठमध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ ।

बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको संक्रमण भएको हाम्रो ठम्याइ छ।’ यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो । 

वीरगन्जमा आठ जनाबाहेक अहिले अरू कुनै पनि संक्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको उनले बताए ।

कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ । वीरगन्जमा संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरूमा पाइएको उनको भनाइ छ ।  

उनले नेपाल र भारतमा कोरोना संक्रमितमा देखापरिरहेको ब्ल्याक फंगस मानिसबाट मानिसमा सर्ने रोग भने नभएको बताए । ‘अहिलेसम्मको रिसर्चमा ब्ल्याक फंगस हावा र माटोबाट सर्ने संक्रमण भएको पाइएको छ,’ उनले भने ।

स्टेरोइड्स र एन्बिायोटिक औषधि सेवन गरेका तथा अक्सिजन लिएका अधिकांश कोरोना संक्रमितमा ब्ल्याक फंगस बढी देखिने गरेको भन्ने तथ्य अहिलेसम्म पुष्टि नभएको उनको भनाइ छ ।

अहिलेसम्म कोरोना संक्रमण भएपछि पानीको वाफ लिएकाहरूमै ब्ल्याक फंगसको संक्रमण बढी देखिएको डा. सिंहले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *