TodayPati

सिरहामा निषेधाज्ञाको अवज्ञा : हाटबजारमा जथाभावी भिडभाड, कालोबजारी ह्वात्तै बढ्यो

विनय यादव-

सिरहा, जेठ १६ गते ।

सिरहामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा फितलो हुँदै गएको छ । गत ३१ वैशाख राति १२ बजेदेखि २१ जेठसम्मका लागि जारी निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा निषेधाज्ञा उल्लंघन गर्ने क्रम समेत बढेको छ ।

Sponsored

जिल्लाका मुख्य बजार लहान, सिरहा, मिर्चैया, गोलबजारसहितका शहर तथा ग्रामीण क्षेत्र सबैतिर विस्तारै मानिसहरूको चहलपहल बढिरहेको छ । निषेधाज्ञामा घरबाट बाहिर निस्कने र समूहमै घुम्ने प्रवृत्ति पनि बढेको छ । अत्यावश्यक खाद्यवस्तु बिक्रीवितरण गर्ने पसलहरू खोल्न समयसीमा तोकिएको छ । 

तर, समयसीमाको उल्लंघन मात्रै होइन, सामाजिक दूरी कायम गर्ने र आवश्यक सुरक्षाका उपायहरूसमेत अपनाएको पाइँदैन । ग्रामीण क्षेत्रमा त पछिल्ला दिनमा न कुनै सामाजिक दूरी छ, न सर्तकता । हटिया चलिरहेकै छन् । एक ठाउँबाट अर्को ठाउँको आवागमन रोकिएको छैन ।

स्वास्थ्यकर्मी, कर्मचारी, घुम्ती टोली, अत्यावश्यक सामग्री टोली, स्थानीय तहको टोली, श्राद्धकर्मलगायतका फर्जी ब्यानर टाँसी सवारीसाधन गुडेका छन् । बिहान हुनेबित्तिकै सिराहाका मुख्य बजारका राजमार्ग तथा बाटोमा मोटरसाइकल, साइकल र पैदलयात्रीको बाक्लो उपस्थिति देखिन थाल्छ ।

Sponsored

औषधि पसलमात्र होइन, साँझका बेला मदिरा पसल पनि खुल्न थालेका छन् । यसरी निषेधाज्ञाका बीच पसल खुल्दा कालोबजारी पनि ह्वात्तै बढेको छ । तर, यसमाथि न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छ, न त प्रहरी प्रशासनको सक्रियता देखिन्छ । 

निषेधाज्ञा उल्लंघनका घटनाले कोरोना संक्रमणको जोखिमलाई बढाइरहेको छ । सिरहा छिमेकी मुलुक भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकामा व्यापक सुरक्षाकर्मी परिचालन भएपनि मानिसहरू भित्रिने क्रम रोकिएको छैन ।

ज्यानै लिने महामारीमा पनि नागरिक सचेत नहुनु दुःखद रहेको पत्रकार देवकुमार यादव बताउँछन् । नागरिक सचेत नभएसम्म महामारी नियन्त्रण सरकार र प्रशासन मात्रैले गर्न नसक्ने उनको भनाइ छ । ‘कुनै घरमा विपत् आइपर्दा जसरी हामी सबै सदस्य मिलेर सामना गर्छौं,’ उनले भने, ‘त्यसरी नै यो महामारीसँग लड्न हामी सबैमा गम्भीरता बोध हुन जरुरी छ ।’

महामारी नियन्त्रणमा सरकारी भूमिकाप्रति पनि उनको असन्तुष्टि छ । संघ, प्रदेश र स्थानीय सरकार सबै कोरोना महामारी नियन्त्रणमा जस पाउने भूमिका खेल्न नसकेको उनले बताए । ‘त्यसमा पनि यो महामारी नियन्त्रणमा स्थानीय सरकार गम्भीर बनेको भए केही हदसम्म जोखिम घट्ने थियो,’ उनले भने, ‘तर, उनीहरू गैरजिम्मेवार जस्तो देखिए ।’

जिल्लामा जारी निषेधाज्ञाका बीच हाट बजार लाग्ने अवस्था बन्नु स्थानीय सरकार नै जिम्मेवार रहेको उनले बताए । ‘निषेधाज्ञामा काम गर्न नपाएर दैनिक ज्यालादारीमा निर्भर परिवारमा भोकमरी छ,’ उनले भने, ‘उनीहरूलाई नै स्थानीय सरकारले ठेलाको व्यवस्थापन गरिदिएर मापदण्ड तोकी खाद्यवस्तु आपूर्तिमा खटाएको भए उनीहरूको परिवार पनि चल्ने थियो । बजारमा सामान किन्न आउनेको भिड पनि लाग्ने थिएन ।’

सिराहामा शनिबार साँझसम्मको तथ्यांक अनुसार, कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ७१ पुगिसकेको छ । जसमध्ये शनिबार मात्रै ६ जना संक्रमितको मृत्यु भएको छ । सिराहामा अहिलेसम्म ९ सय ९४ जनामा संक्रमण पुष्टि भएकोमा हालको सक्रिय संक्रमितको संख्या ५ सय ४७ रहेको छ । तीन सय ८२ जना भने हालसम्म निको भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *