TodayPati

कोरोना संक्रमणमुक्त भएका वीरगञ्जका तीन जनामा ब्ल्याक फङ्गस पुष्टि

टुडेपाटी-
वीरगञ्ज, जेठ १४ गते ।

वीरगञ्जमा कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जका २५, ४५ र ५० वर्षका तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले जानकारी दिए ।

Sponsored

फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको ठाकुरले बताए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ, एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ ।’

उनका अनुसार म्युकोर्माइकोसिस दुई चरणमा पत्ता लाग्छ । पहिलो केओएच टेष्ट हो । यसले फङ्गस इन्फेक्सन छ–छैन पत्ता लगाउँछ । कुन फङ्गस इन्फेक्सन हो भन्ने थाहा पाउन कल्चर गर्नुपर्ने हुन्छ । त्यसका लागि एक साता लाग्छ । ‘फङ्गस इन्फेक्सन छ भनेर प्रमाणित भएपछि उपचार शुरु गर्ने बाटो खुल्छ’ उनले भने, ‘त्यसपछि कुन जाति हो भनेर कल्चर गरेर पत्ता लगाउँछौं ।’

म्युकोर्माइकोसिस दुर्लभ, तर खतरनाक फंगल संक्रमण हो । यो पछिल्लो समय कोरोना संक्रमितमा देखा परिरहेको छ । यसले संक्रमित नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

Sponsored

नारायणी अस्पतालका डाक्टर निरज सिंह पनि वीरगञ्जमा ब्ल्याक फङ्गसका विरामी भेटिएको र दुई जनाको मृत्यु भइसकेको बताउँछन् । क्लिनिकल्ली भने पहिलो पटक प्रमाणित भएको छ ।

डा.सिंहका अनुसार पछिल्ला दिनमा भेटिएका ब्ल्याक फङ्गसका विरामीलाई चितवनका साथै भारतको पटना, लखनउ रिफर गरिएको छ । ‘समस्याबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका हौं, औषधि व्यवसायीहरुसँग हारगुहार गरेका थियौं,’ डाक्टर सिंहले भने, ‘औषधिको व्यवस्था हुन सकेन, त्यसैले भारतका विभिन्न अस्पतालमा रिफर गरेका छौं।’

ब्ल्याक फङ्गसका बिरामीलाई कालाजारमा प्रयोग गर्ने एन्टिफङ्गस औषधिहरु प्रयोग गरिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *