TodayPati

जनकपुरमा संक्रमितको शव व्यवस्थापनमा चर्को शुल्क, एउटै शव जलाएको १७ हजारसम्म

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

बुधबार जनकपुरका विभिन्न अस्पतालमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भयो । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति धनुषाले जानकारी दियो ।

कोरोनाबाट मृत्यु भएपछि शव जलाउनका लागि सास्ती भोग्नुपरेको पीडितहरूको गुनासो छ । जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट) मा एउटा शव जलाउनका लागि १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ ।

Sponsored

मङ्गलबार जनकपुर– १६ का एक व्यक्तिले स्वर्गद्वारीमा बाबुको शव व्यवस्थापन गर्न १५ हजार तिर्नुपरेको बताए । ‘अस्पतालमा बुबाको उपचारका लागि लाखौँ खर्च गर्यौँ । तर बुबालाई बचाउन सकिएन । कोरोनाले बुवालाई लिएर गयो । अन्तिममा दाहसंस्कार गर्दासमेत चर्को शुल्क तिर्नुपर्यो,’ ती व्यक्तिले भने ।

यस्तो महामारीमा राज्य शव व्यवस्थापनमा पनि जिम्मेवार नभएको बताए । ‘कोरोना कालमा शव व्यवस्थापन निःशुल्क वा आफूखुसी दिने व्यवस्था हुनुपर्दछ,’ उनले भने ।

जनकपुरधामस्थित स्वर्गद्वारीले शव व्यस्थापनका लागि दाउरालगायत सामग्रीको नाममा प्रतिशव १४ देखि १७ हजार लिने गरेको पाइएको छ । स्वर्गद्वारीको ठेक्का लिएका जनकपुरका जबाहर शर्माले उक्त दरको रकम लिएको स्वीकार गरे ।

Sponsored

शर्माले समान्य दिनमा बढीमा १० हजारसम्म शुल्क लिने गरे पनि अहिले अलि महङ्गो लिएको बताए । ‘कोरोनाकालमा सबै सामग्री महङ्गो छ । दाउरा पाइरहेको छैन । गाउँगाउँ डुलेर दाउरा जोहो गर्नुपर्छ । खर पनि सबै ठाउँमा पाइँदैन । फेरि कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापन गर्ने काम पनि त्यत्तिकै जोखिमपूर्ण छ । त्यसकारण अहिले सामान्य दिनभन्दा अलि बढी रकम लिनुपर्ने बाध्यता छ,’ उनले भने । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *