TodayPati

वीरगञ्जमा किटको अभाव भएपछि कोरोना परीक्षण बन्द

टुडेपाटी-

वीरगञ्ज, जेठ ११ गते ।

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ ।

Sponsored

लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले जानकारी दिए ।

उनले भने, ‘किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।’ उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।

Sponsored

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ। महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए ।

पिसिआर परीक्षणसमेत हुन नसकेको बताइएको छ । सो हेल्थ डेस्कमा स्वाब सङ्कलनसमेत बन्द छ। त्यस्तै भारतबाट दैनिक १० देखि १५ वटा पिकअप गाडीमा तरकारी आए पनि परीक्षण हुनसकेको छैन ।

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ। वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासअनुसार सोमबारसम्म पर्साका १९, बाराका १२, सर्लाहीमा नौ, रौतहटका दुई र धनुषाका एक गरी ४३ जना सङ्क्रमण पुष्टि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *