TodayPati

सिरहमा निर्माणाधीन सडकमा कमसल सामग्री प्रयोग, स्थानीयले रोके काम

विनय यादव-
सिरहा, जेठ ११ गते ।

सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निर्माणाधीन सडकमा कमसल सामग्री प्रयोग भएपछि स्थानीयले काम रोकेका छन् ।

निर्माण कार्यमा प्रयोग गरिने ग्राभेल र बेसमा कमसल सामग्री प्रयोग गरेको देखेपछि स्थानीयले काम अवरुद्ध पारेका हुन् । कमसल काम भइरहेको भनेर पटकपटक आवाज उठाए पनि ठेकेदार र जनप्रतिनिधिले बेवास्ता गरेपछि काम अवरुद्ध पारेको स्थानीयले बताए ।

यसअघि स्थानीयले कमसल कामको विरोधपछि ठेकेदार निर्माण स्थलमा आएर सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको प्रतिबद्धताका बाबजुद पनि पुनः कमसल सामग्री प्रयोग भएपछि स्थानीयले काम अवरुद्ध गरेको स्थानीय सुरेश मण्डलले बताए ।

Sponsored

हिलाम्मे सडकमै प्राइम कोट (पगालेको अलकत्रा) लगाउनेदेखि माटो मिसिएको सिल्किन गिट्टीसमेत प्रयोग गरेपछि गाउँलेले काम अवरुद्ध गरेको उनले बताए । निर्माणमा कमजोरी भइरहेको जानकारी पटकपटक गराए पनि वडाध्यक्षले सुनुवाइ नगरेको अर्का स्थानीय सरोज रायको गुनासो छ ।

तर, वडाध्यक्ष जगत श्रेष्ठले आफूले राम्रो काम नभएको स्थानीयबाट जानकारी पाएपछि इन्जिनियरलाई साइटमै गएर काम हेर्न आग्रह गरेको सुनाए । ‘म आफैँ प्राविधिक होइन, हामीले राम्रो नराम्रो छुट्याउन पनि नसक्ने भएकाले इन्जिनियरलाई जान भनिसकेको छु,’ उनले भने, ‘स्थानीयको गुनासो सम्बोधन हुन्छ ।’

स्थानीयले भने वडाध्यक्षलाई पटकपटक जानकारी गराउँदा पनि काम भएको ठाउँमा नपुगेपछि जनप्रतिनिधि र ठेकेदारबीच मिलेमत्तो रहेको आरोप लगाउँछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *