कोरोनाको दोस्रो लहर : महोत्तरीमा मात्र ५९ जनाको मृत्यु, बिर्ता सिल
टुडेपाटी-
महोत्तरी, जेठ ११ गते ।
कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।
कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् ।
३५ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा छन् । उनका अनुसार २४० ले कोरोना जितेका छन् ।
Sponsored
यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भङ्गहा– ४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय सङ्क्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो ।
सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ । भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताए । रासस