महोत्तरीको बिर्तामा कोरोनाको मिल्दोजुल्दो लक्षणका कारण १३ जनाको मृत्यु, भएन पीसीआर परीक्षण
टुडेपाटी-
महोत्तरी, जेठ ८ गते ।
महोत्तरीको भंगाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पीसीआर परीक्षण भएको थिएन ।
चारैतिर कोभिड–१९ संक्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए ।
‘बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पुर्याएका थिए, अरु घरमै मरे,’ दाहालले भने, ‘अस्पताल पुर्याइएका दुई जनाको पनि पीसीआर परीक्षण भने गरिएको थिएन ।’
महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्येष्टिमा सामेल हुन छाडेको दाहालले बताए । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसीभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ । कोरोनाले एकै बस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पीसीआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ बताउँछिन् ।
Sponsored
आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउँछन् । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए ।
‘पीसीआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौँ,’ वडाअध्यक्ष महतोले भने, ‘सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिँदा ढिलाइ भएको हो ।’ अब बस्तीस्तरमै पीसीआर परीक्षणका लागि स्वाब संकलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।
यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रबन्ध गरिने बताए ।
जिल्लामा यसपालि गत १४ वैशाखमा कोभिड-१९ संक्रमणका कारण पहिलो मृत्यु भएको थियो । त्यसयता आज (शुक्रबार) बिहान ७ बजेसम्ममा जम्मा ४१ जनाको संक्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यसपालि एक हजार ५३८ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १ हजार ३८२ जनामा सक्रिय संक्रमण रहेको कार्यालयका कोभिड-१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिइन् । यसपालि ११५ जनाले संक्रमण जितेका छन् ।
गतवर्ष वैशाखदेखि कात्तिकसम्ममा १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो भने २ हजार १४१ जनामा संक्रमण पुष्टि भएको थियो । गतवर्ष सक्रिय संक्रमितको संख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ । रासस