प्रतिनिधिसभा विघटन विरुद्ध राजनीतिक तथा कानुनी लडाइ लड्ने विपक्षी गठबन्धनको उद्घोष
टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको पाँच दलले राजनीतिक तथा कानुनी लडाइ लड्ने घोषणा गरेको छ ।
शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकले सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष समेत गरेको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन गर्ने वदनियतपूर्ण कार्य राष्ट्रपतिबाट भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
Sponsored
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दावीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दै बैठकले आपत्ति समेत जनाएको छ ।